आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ । हिजो भक्तपुरको जगातीमा यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका २७ वटा भाडाका गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १२ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो । नियन्त्रणमा लिएका १२ गाडीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने मात्रै नभइ उपत्यकाभित्रै चल्ने गाडीलाई लक्षित गरेर सुरक्षा जाँच बढाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा दशैँका बेलामा सडक खाली हुँदा चालकले तीव्र गतिमा गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता प्रवृत्ति देखिएकाले थप सुरक्षा जाँच गर्न लागिएको कार्यालयले जनाएको छ । यस्तै, आजदेखि छतमा यात्रा गर्न नदिन, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन र चालकले जाँडरक्सी खाएर गाडी चलाएको छ/छैन भनेर कडाइका साथ जाँच हुँदैछ । यस्तै, यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन यात्रुलाई प्रहरीको अनुरोध छ ।