मकवानपुर–बागमती प्रदेश सरकारले कोरोना भाईरसका बिरामीको उपचारका लागि प्रदेश मातहतका सबै अस्पतालहरुमा छुट्टै उपचार कक्ष स्थापना गर्ने भएको छ । हेटौंडा, भरतपुर, भक्तपुर अस्पतालमा छुट्टै कक्ष स्थापना गरीसकेको प्रदेश सरकारले अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा पनि अनिबार्य रुपमा छुट्टै कक्ष स्थापना गर्ने भएको हो ।
सोमबार प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयमा स्वास्थ्य मन्त्रालयबाट आएको स्वास्थ्य टोलीसंग आकस्मिक छलफल गरी शंकास्पद् बिरामीलाई अलग राखेर उपचार गर्ने गरी तयारी भएको जानकारी दिएको छ । कोरोनाको संक्रमण भित्रन र फैलिन नदिन बिभिन्न समिति बनाएर काम समेत गरीरहेको सरकारले जनाएको छ । छलफलका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको बताउनुभयो । उपचार पद्धती पत्ता नलागेको भएर मात्र केही समस्या देखिएको भएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । सरकारले जागरणको अभियान चलाईरहेको भन्दै उहाँले अफवाह फैलन नदिने तर्फ सबै सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलबाट बच्न सबैलाइ सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयबाट आएको टोलीसंगको छलफलका क्रममा टोलीले कोरोनाबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, जुठो चिजबिज आदानप्रदान गरेर नखाने, काँचो तथा नपाकेका खाना नखाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगर्न तथा मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खाएमा यसबाट बच्न सकिने बताएका छन् । स्वास्थय रुघाखोकी, ज्वरो आदि आए अनिवार्यरुपमा मास्क लगाउन र स्वास्थ्य केन्द्रमा जचाउन आग्रह गरेका छन् ।
कार्यक्रममा आन्तरिक मामीला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँल, भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब तोयम राय लगायत अन्य सरोकालवालाहरुको उपस्थिती रहेको थियो ।
Home प्रदेश बागमती प्रदेश बागमती प्रदेशका सबै अस्पतालमा काेराेनाका बिरामीलाई उपचार गर्न छुट्टै उपचार कक्ष