मकवानपुर– हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरबाट ८ बर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश कमलराज बिष्टको एकल इजलासले केशरीलाई ज्यान मार्ने उद्योग अन्तरगत आठ बर्ष कैद र १ लाख रुपैंया जरिवानाको फैसला गरेको हो ।
त्यस्तै, उक्त घटनामा मतियारको रुपमा रहेको सञ्जयकुमार मण्डललाई भने २ बर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैलसा भएको छ । अदालतले केशरीबाट विन्दवासीनीको उपचार खर्चमा लागिएको १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका श्रेष्तेदार केशव कुमार कौशीकले जानकारी दिनुभयो । साथै सो सम्भव नभएमा नेपाल सरकारको उपचार कोषबाट पिडित कंशाकारलाई क्षतिपूर्ति भराउने फैसला गरेको कौसीकले जानकारी दिनुभयो ।
कंशाकारमाथि २०७० साल बैशाख ९ गते पसलमा बसिरहेको समयमा केशरीले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहार गरेर फरार रहेका केशरीलाई २०७६ साल कार्तिक १४ गते पक्राउ गरेर कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक थियो । केशरीलाई पक्राउ गरेको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि पक्राउ गरिएको थियो ।