मकवानपुर– मकवानपुरमा बुधबार देखि पुरुष तथा महिला नगरकप भलिबल प्रतियोगिता सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भइरहेकाे प्रतियोगिताको आज एक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गर्नुभएको हो ।
आज बिहानबाट सुरु हुने भनिएता पनि मौसमका कारण खेल केहि ढिला सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मेयर महतले खेलकुद क्षेत्रमा सदैब सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले आगामी वर्ष भलिबल खेल खेल्ने पुर्वाधार निर्माण गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ । मुख्य सहयोगि हेटौंडा उपमहानगरपालिका रहेको प्रतियोगिताका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र स्वर्ण भण्डारले पनि सहयोग गरेको छ ।
प्रतियोगितामा नगरका १२ वटा वडाहरुबाट १० वटा महिला र १० वटा पुरुषको टिम सहभागि रहेका छन् । लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा आज पहिलो दिन भएको खेलमा पुरुष तर्फ समुह क बाट १७ र १२, समुह ग बाट वडा नम्बर ६ र १९ तथा समुह घ बाट वडा नम्बर ८ र १३ क्रमश विजेता र उपविजेता बन्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । साथै महिला तर्फ वडा नम्बर ९ र ५, वडा नम्बर १२ र १९, वडा नम्बर ११ र १७ क्वाटर फाईनलमा प्रवेश गरेको आयोजकले जनाएको छ । लिग चरणका महिला तथा पुरुषको बाँकी एक÷एक वटा खेल भने बिहीबार बिहान ७ः१५ बजेबाट र सबै क्वाटर फाईनलका खेलहरु बिहान ११ः३० बजेदेखि संचालन आयोजकले जनाएको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्यलगायतकाको उपस्थित रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।