मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश प्रहरी कार्यालय मुख्यालय भवनको आजदेखि निर्माण कार्य शुरु गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरी कार्यालयको परिसरमा कूल ३२ करोडको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भवन निमार्ण कार्य थालिएको हो ।
भवनको आज आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले शिलान्यास गर्नुभएको छ । एक हजार ३१८ स्क्वायर मिटर (१४१८१.६८ वर्गफिट) मा भवन निर्माण हुने भवनका लागि चालु आर्थिक वर्षकामा पाँच करोड निकासा भएर मा टेन्डर प्रक्रया मार्फत निर्माण कार्य प्रारम्भ भएको हो । निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीका रुपमा रहने भएकाले हालको संरचना अपुग हुने र प्रदेश प्रहरीको प्रधान कार्यालयका रुपमा विकास गर्नुपर्ने भएको हुँदा उक्त भवनको निर्माण कार्य शुभारम्भ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी हाल सङ्घीयअन्तर्गत रहेपनि प्रदेश सरकारले भवन निर्माणलगायत शान्ति सुरक्षासँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने विषयमा सहयोग गर्दै आएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा हालसम्म वाग्मती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ प्रहरी एकाइ निर्माण सम्पन्न भइसकेका र १२ प्रहरी एकाइ निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । चालु आवमा प्रदेश प्रहरी कार्यालयको मुख्यालयसमेत गरी थप २१ प्रहरी एकाइ निर्माणका लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको छ । समग्रमा हालसम्म ६७ प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सहयोग प्राप्त भइसकेको जनाईएको छ ।