हेटाैंडा– नेपालमा कोरोना भाइरसबाट आज थप ८ हजार ४ सय १८ जना संक्रमित भएका छन् । आज १७ हजार ३ सय १५ वटा नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय ८७ जना तथा ९ सय ८९ वटा नमूनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।
यसैगरी आज थप ५३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज थप ३ हजार ३ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना मुक्त हुने दर ७७ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज देश भरमा गरी जम्मा ८३ हजार ४ सय ९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ७८ हजार १८ जना होम आइसोलेसन तथा ५ हजार ४ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।