हेटाैंडा– चीनले आफ्नो सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको औपचारिक कार्यक्रमबारे जानकारी दिइएको छैन । तर राष्ट्रपति सी जिनपिङले एउटा मन्तव्य दिने ठानिएको छ । चीनमा कयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र केही हप्तायता पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङलगायतका मुख्य सहरहरुमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ । यसैबीच, वार्षिकोत्सव मनाउन वर्षभरि प्रसारणका लागि सय टेलिभिजन कार्यक्रमको मितिहरु तय भइसकेको छ । चीनको उपलब्धिको प्रशंसा गर्ने सय प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा एक सय गायकहरू रहेका बीबीसीले जनाएको छ । हङकङले पनि आज नै २४ औं वर्षगाँठ मनाउँदै छ ।