काठमाडौं – नेपाल राष्ट्र बैङ्कले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैङ्कले आज एक विज्ञप्ति जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।
बैङ्कले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैङ्कको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैङ्कले जनाएको छ । “हालसम्म राष्ट्र बैङ्कको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र यसबाट बैङ्कको कुनै पनि सूचना तथा जानकारी नगरिएको ब्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं”, विज्ञप्तिमा भनिएको छ । अनाधिकृत रुपमा राष्ट्र बैङ्कको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैङ्कले जनाएको छ ।
यसअघि बुधवार नेपाल बैंकर्स सङ्घले आफ्नो बैङ्क खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै सङ्घले आफ्नो व्यक्तिगतरगोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो । पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैङ्क खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ ।