हेटौंडा, फागुन ५ । हेटौंडा उपमहानगरपालिकामा कार्यरत इन्जिनियर तथा प्राविधिकहरूले मलंगवा स्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद यादवको हत्या गरिएको घटनाको विरोधमा आज धर्ना दिएका छन् ।
फागुन ३ गते आइतबार अज्ञात व्यक्तिबाट गोली प्रहार गरी गरिएको यादवको हत्या घटनाप्रति गम्भीर आपत्ति जनाउँदै हेटौंडाका प्राविधिकहरूले उपमहानगरपालिकाको मूल गेटअगाडि प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले “राष्ट्रसेवक कर्मचारीको सुरक्षा सुनिश्चित गर”, “दोषीलाई कडा कारबाही गर” र “प्राविधिकमाथिको हिंसा बन्द गर” जस्ता नाराहरू लगाएका थिए ।
घटनापछि नेपाल इन्जिनियर्स एशोसिएसन ले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एशोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै दिनदहाडै राष्ट्रसेवक कर्मचारीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाको घोर निन्दा तथा भर्त्सना गरेको छ। साथै, सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन, मधेश प्रदेश सरकार तथा नेपाल सरकारसँग जोडदार माग गरेको छ।
एशोसिएसनका महासचिव इन्जिनियर विनोद प्रकाश पण्डितद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर बनाउने उल्लेख गर्दै शीघ्र न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ। अन्यथा थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
हेटौंडामा आयोजित धर्ना कार्यक्रममा सहभागी प्राविधिकहरूले पनि एशोसिएसनको मागप्रति ऐक्यबद्धता जनाएका छन्। उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म प्राविधिकहरू असुरक्षित महसुस गरिरहने बताएका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
प्राविधिकहरूले सार्वजनिक सेवा प्रवाहमा खटिएका कर्मचारीमाथि हुने हिंसाका घटनाले समग्र प्रशासनिक संरचनामै नकारात्मक असर पर्ने भन्दै राज्यले कर्मचारी सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।









