मकवानपुर– मकवानपुरका विभिन्न स्थानीय तहहरुमा बाल विवाह रोकिने क्रम बढेको छ । चेतनाको बृद्धि तथा सो सम्बन्धी सकृयताका आधारमा पछिल्लाे एक सातामा जिल्लाका विभिन्न स्थानका गरेर ८ जोडीको बाल विवाहमा रोक लगाइएको हो ।
जिल्लाको भिमफेदी गाउँपालिकाका ५ जना बालिका र २ जना बालक तथा २ जना युवक गरी ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका, १ जना बालक र १ जना युवक गरी ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना बालिका र हेटौंडा नगरभित्रका २ जना बालिका तथा १ जना बालक गरी ३ जना गरी जम्मा १६ जना अर्थात ८ जोडीको बालविवाह रोक्न सफल भइएको सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभएको हो ।
विवाह गर्ने तथा बिवाहको प्रयास गर्ने बालिकाहरुमा २ जना बालिका १४ वर्षका, ३ जना १५ वर्षका र ३ जना १६ वर्षको उमेरका रहेका छन् । भने यी बालिकाहरुसँग विवाह गर्ने वा गर्न प्रयास गर्ने बालकहरु भने ६ जना २० वर्ष मुनिका रहेका छन् भने २ जना २१ र २२ वर्ष उमेरका रहेका छन् । उद्धार गरिएका यी सबै बालिकाहरु विवाह गर्ने ध्येयले घर छोडेर हिँड्नु अघिसम्म विद्यालय निरन्तर गइ आएका बालिकाहरु स्वयम्ले नै बताएका छन् ।
स्थानीय गाउँपालिका र वडा कार्यालयको नेतृत्वमा प्रहरी, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, सिविन बाल हेल्पलाइनसँगको समन्वय र सहकार्यमा बालिकाहरु उद्धार पश्चात् मनोसामाजिक मनोविमर्श सेवाको लागि बाल हेल्पलाइनको संरक्षण गृहमा राखिएको छ । सुरुमा बालबालिकाहरु आपूmखुशी प्रोम विवाहको लागि घर छोडेर भागेर हिँड्दा परिवारको आपत्ति रहने र जब उद्धार गरिन्छ तब केहीको परिवार पनि बालविवाहलाई नै समर्थन दिने पक्षमा प्रस्तुत हुने गरेकाले बालविवाह रोक्न निकै चुनौतिको सामना गर्नुपरेको ज्ञवालीले बताउनुभयो ।
जिल्ला र स्थानीय तह बालमैत्री अभियानमा जुटिरहेका बेला समुदायमा यस्ता प्रकृतिका बालविवाह, विद्यालय छाड्ने दर बढ्दो मात्रामा हुनु निकै चुनौतिको कुरा हो, यसको सामना गर्न र व्यवस्थापन गर्न सबै पक्षको साथ र अथक प्रयास अत्यावश्यक रहेको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । बागमती प्रदेश सरकारले २०८० सम्ममा प्रदेशलाई बालविवाह मुक्त प्रदेश बनाउने अभियान थालेको छ । यसका लागि पनि अहिले त्यस्ता बालविवाहहरु रोक्ने, उनिहरुलाई मनोसामाजिक परामर्श दिने लगायतका कार्यक्रमहरु संचालन गरिएको छ । जसले गर्दा पनि त्यसता घटनाहरु बाहिर आउनुका साथै बालविवाह रोक्न सफल भएको पाईएको छ ।