मकवानपुर, पुष ३० । हेटौडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस–२०८२ सप्ताहव्यापी रूपमा विविध कार्यक्रमसहित मनाउने भएको छ । सहिद स्मारक बिकास समितिको मंगलबार बसेको बैठकले शहीदहरूको स्मृतिमा शहीद सप्ताह २०८२ विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेको हो ।
सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सहीद दिवशका अवसरममा माघ १० गतेदेखि १६ गतेसम्म पत्रकार भेटघाट, सरसफाइ, रक्तदान, श्रद्धाञ्जली, वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका सचिव रघुनाथ खुललले जानकारी दिनुभयो । उहाँका अनुसार माघ १० गते पत्रकार भेटघाट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । भने, माघ ११ गते बिहान ७ बजे स्मारक परिसर सरसफाइ र दिउँसो २ बजे शहीद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम हुनेछ ।
त्यस्तै माघ १२ गते बिहान ७ बजे समितिको १६औँ परिषद् बैठक (वार्षिक साधारण सभा) आयोजना गरिनेछ भने माघ १३ गते बिहान ७ बजे नेपाल रेडक्रस उपशाखा हेटौँडाको समन्वयमा रक्तदान कार्यक्रम हुनेछ ।
त्यसैगरी माघ १४ गते बिहान ७ः३० बजे हेटौंडा–१२, स्थित प्रथम शहीद लखन थापा वाटिकामा श्रद्धाञ्जली कार्यक्रम तथा माघ १५ गते दिउँसो ११ बजे “शहीदको सपना र नवयुवाको कर्तव्य” विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ ।
शहीद सप्ताहको समापन माघ १६ गते बिहान ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा शहीद प्रति सलामी, माल्यार्पण, पुष्पाञ्जली, सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण कार्यक्रमसहित गरिने उहाँले बताउनुभयो ।











