मकवानपुर,२३ पुस  । आगामी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशतर्फबाट नेकपा एमालेले डा. प्रेमप्रसाद दंगालको मनोनयन दर्ता गरेको छ । पार्टीका केन्द्रीय सदस्य दंगाललाई राष्ट्रिय सभा सदस्यको लागि पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा समर्थक र बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी प्रस्तावनको रुपमा रहेर मनोनयन दर्ता गराएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने दंगाल यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भइसकेका छन् । डा. दंगाल अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्ष समेत हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित सत्ता गठबन्धनबिच भएको सिट बाँडफाँड अनुसार बागमतीका २ सिटमा एमाले र कांग्रेसले एक-एक उम्मेदवार उठाएका हुन् ।
देशभर रिक्त हुने १८ सिटमध्ये सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ । माओवादी केन्द्र (हाल नेकपा) गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरण अनुसार सिट बाँडफाँड गरेका हुन् । सोही अनुसार बागमती तर्फको २ सिटमा डा. दंगाल र देवकोटालाई उम्मेदवार बनाइएको हो ।