मकवानपुर – घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभयो । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड २४ लाख ८३ हजार ८२० रुपैया राजस्व सङ्कलन गरेकाेमा आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ अर्थात १२४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हाे ।
कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा व्यवसाय रजिष्टेशनबाट ४ करोड ७२ लाख ५६ हजार ७४८ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट २२ लाख ५० हजार ३२० रुपैयाँ, दण्ड जरिवानाबाट ८ लाख रुपैयाँ र बेरुजु असुलीबाट १८ हजार रुपैया गरी जम्मा ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख दाहालले बताउनुभएको छ । उहाँले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड २४ लाख ८३ हजार ८२० रुपैया राजस्व सङ्कलन भएको र गत आर्थिक वर्षमा नयाँ व्यवसाय रजिष्टेशन र अन्य प्रशासनिक सेवा शुल्कबाट बढी राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले सरकारले अनुदान तथा व्यवसाय गर्नेलाई विभिन्न छुट सेवा दिने देखि बैंकिङ प्रयोजनामा समेत सहजता ल्याएपछि व्यवसाय दर्ता गर्ने बढेको र राजस्वमा समेत बृद्धि भएको बताउनुभयो । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण र ५ लाख पूँजीसम्मका व्यवसायहरु स्थानीय तहमै दर्ता हुने पनि १२४ प्रतिशत बढी राजस्व संकलन भएको उहाँले बताउनुभयो ।
प्रमुख दाहालका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयमा १ हजार ६९८ वटा उद्योग र ८०२ वटा वाणिज्य गरि कुल २ हजार ५ सय वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यस्तै उद्योग र वायिाज्य तर्फ क्रमश नविकरण ७८६ र १ हजार २८, नामसारी ११५ र ८१, ठाउँसारी ४३ र २६, उदेश्य थप ५५ र १२७, लगत कट्टा १०१ र १८४, पुँजी बृद्धि ३०० र ३१९ र प्रतिलिपी प्रदान ९५ र २०० जना व्यवसायीलाई सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण देश विदेशबाट मानिसहरू घर फिर्ता भएका र आफ्नै रोजगार सुरु गरेका कारण कारण व्यवसाय दर्ता गर्ने बढेको तथा पुराना बन्द व्यवसायहरुपनि पुन सुचारु गरेका कारण ठुलो परिणाममा राजस्व सङ्कलन गरिएको बताउनुभयो । यस बाहेक कार्यालयमा शुन्य नगद कारोवार लागु गरेपछि राजस्व बृद्धि भएको उहाँले बताउनुभयो ।
कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा राजस्व बृद्धि गर्न सफल हुनुका साथै नयाँ उद्यमीलाई प्रविधि हस्तान्तरण पनि बढाएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ३२ जना उद्यमीलाई प्रविधि दिएकोमा आर्थिक वर्ष ५६ जना नयाँ उद्यमीलाई प्रविधि उपलब्ध गराएको उहाँले बताउनुभयो । नव उद्यमीको २० प्रतिशत र कार्यालयको ८० प्रतिशत लागतका प्रविधि हस्तान्तरण गरिएको हो । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा २० जनालाई मखमल÷ढाका जुत्ता चप्पल बनाउने तालिम, २० जनालाई गलैँचा बनाउने तालिम, ५० जना नयाँ उद्यमी सृजना र २५ जना स्तरोन्नती तालिम प्रदान गरेको समेत उहाँले जानकारी दिनुभयो । यस्तै कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहसंगको सहकार्यमा दुई वटा साझा सुविधा केन्द्को भवन, एउटा बजार घर र एउटा घरेलु उपज तथा औदोगिक सामग्री विक्रि घर निर्माण गरेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो ।