आइसीसी विश्वकप क्रिकेटमा घरेलु टोली भारतले शानदार सुरुआत गरेको छ । ५ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुआत गरेको हो ।
अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पछ्याएको भारतको सुरुआत भने विर्सन लायक रह्यो । लगातार ३ विकेट गुमएपछि दबाबमा आएको भारतको पारिलाई विराट कोहली र केएल राहुलले स म्हालेका थिए । पहिलो विकेटकाे रुपमा इशान किशन पहिलो बलमै आउट भएका थिए ।
त्यसपछि कप्तान रोहित शर्मा पनि खाता नै नखोली आउट भएपछि भारत सुरुमै अप्ठेरोमा देखिएको थियो । तेस्रो विकेटको रुपमा श्रीयस अय्यर पनि खाता नै नखोली आउट भएपछि भारतले २ ओभर सकिँदा २ रन बनाएर ३ विकेटग गुमाएको थियो । त्यसपछि कोहली र राहुलले पारि सम्हालेर अघि बढाए । कोहली ८५ रन बनाएर आउट भए । यस्तै राहुल भने ९७ रनमा नटआउट रहँदै खेल जिताएरमात्र पभेलियन फर्किएका थिए । कोहली आउट भएपछि क्रिजमा आएका हार्दिक पाण्ड्या ११ रनमा नटआउट रहे । अस्ट्रेलियालका जोश हेजलबुडले ३ तथा मिचेल स्टार्कले १ विकेट हात पारे ।
अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर अस्ट्रेलियाले ४९.३ ओभरमा सवै विकेट गुमाएर १९९ रनमात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१ रनको इनिङ खेले । भारतका लागि रविन्द्र जडेजा सबैभन्दा सफल बलर बने । रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए । कुलदीप यादव र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।
जसप्रित बुमराहले टीम इन्डियालाई पहिलो सफलता दिलाए । जसप्रित बुमराहले मिचेल मार्शलाई विराट कोहलीको हातमा खाता नखोल्दै क्याच आउट गराए । १७ औं ओभरको तेस्रो बलमा कुलदीप यादवले अस्ट्रेलियाका ओपनर डेभिड वार्नरलाई आफ्नै बलमा क्याच आउट गरेर पभेलियन फर्काए । डेभिड वार्नर ४१ रन बनाएर आउट भए । २८ औं ओभरको पहिलो बलमा रविन्द्र जडेजाले स्टिभ स्मिथलाई बोल्ड गरेर अस्ट्रेलियालाई तेस्रो झटका दिए । स्टिभ स्मिथ ४६ रन बनाएर आउट भए । रविन्द्र जडेजाले ३०औँ ओभरको दोस्रो बलमा मार्नस लाबुस्चेनलाई क्याच आउट गराएर अष्ट्रेलियालाई चौथो झटका दिए ।
मार्नस लाबुसचेन २७ रन बनाएर आउट भए । सोही ओभरको चौथो बलमा एलेक्स केरी (०) लाई एलबीडब्ल्यू आउट गर्दै रविन्द्र जडेजाले अस्ट्रेलियालाई पाँचौं झटका दिए। ३६ औं ओभरको पाँचौं बलमा कुलदीप यादवले ग्लेन म्याक्सवेललाई बलिङ गर्दै अष्ट्रेलियालाई छैटौं झटका दिए । ग्लेन म्याक्सवेल १५ रन बनाएर आउट भए । ३७ औं ओभरको दोस्रो बलमा रविचन्द्रन अश्विनले क्यामरुन ग्रीनलाई हार्दिक पाण्ड्याको हातमा क्याच आउट गराएर अस्ट्रेलियालाई सातौं झटका दिए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स (१५ रन) लाई जसप्रित बुमराहले प्याभिलियन फर्काए । यसपछि एडम जाम्पा (६)लाई हार्दिक पाण्ड्याले र मिचेल स्टार्क (२८)लाई मोहम्मद सिराजले आउट गर्दै अस्ट्रेलियाको इनिङ्सलाई १९९ रनमा पुर्याएका थिए।