हेटौंडा, पुस २२ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तार गरिएका जोखिमपूर्ण घरहरुमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । कार्यालयले मंगलबार एक जरुरी सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घरटहराहरुमा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो ।
प्रशासनले सडक सीमाभित्र परेर भत्काइएका संरचनाहरुमा अझै पनि व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएको भन्दै हाल सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको कार्य स्थगित भए पनि भत्काइएका संरचनाहरु व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेको देखिएकाले त्यस्ताे कार्य नगर्न/नगराउन निर्देशन गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।’ यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन समेत सम्बन्धित सबैमा आग्रह गरिएको छ । सडक डिभिजन हेटौँडाको सूचना बमोजिम रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका क्रममा गत मंसिर २० गते घरटहराहरु भत्काइएको थियो ।












