सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । प्रधानमन्त्री मोहमद रोब्लेले एउटा विज्ञप्ति निकालेर खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
प्रभावित मध्ये २६ लाख मानिस एक छाक जुटान मुस्किल अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । खडेरीका कारण ९५ लाख भन्दा धेरै पशुचौपाया प्रभावित भएका छन् । बितेको तीन वर्षदेखि सोमालियामा खासै पानी परेको छैन । सोमालियामा सन् २०११ को अनिकालपछि देशमा सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको प्रधानमन्त्री रोब्लेले बताउनुभएको छ । खडेरी प्रभावित क्षेत्रमा दादुरा र पखाला तथा हैजाका घटना बढ्दै गएको पनि उल्लेख गरिएको छ । सोमालियामा लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तन भएको विज्ञहरुले बताएका छन् ।