रौतहट,७ पुस । रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि रौतहटको गौर नगपालिकाले सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय पाँच दिनका लागि बन्द गरिने भएको छ ।गौर नगरपालिकाको आज बसेको नगर स्तरीय बैठकबाट पुस ८ गते मङ्गलवारदेखि ११ गते शुक्रवारसम्म नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार लगातार बढ्दो चिसो र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी रूपमा विद्यालय बन्द गर्ने निर्णय लिइएको हो । विशेष गरी बिहान र बेलुकीको समयमा बाक्लो हुस्सु तथा चिसो हावाका कारण विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा कठिनाइ भइरहेको थियो । नगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम सामान्य भएपछि पुस १३ गते आइतबारदेखि पठनपाठन पुनः सञ्चालन गरिने नगरपालिकाले जनाइएको छ ।