हेटाैंडा, ३ पाैष । नेकपा एमालेकाे ११ औँ महाधिवेशनको अन्तिम चुनावी मत परिणाममा केन्द्रीय सदस्यमा मकवानपुरबाट रामेश्वर राना, महेश बर्तौला, एकालाल श्रेष्ठ, भारती पाठक र नवीन सिग्देल विजयी हुनु भएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलमा रहेका ५ जनाले निर्वाचनमा जित निकालेका हुन् भने चुनावी प्रतिस्पर्धामा रहेका २ जना पराजित भएका छन् ।

मकवानपुरबाट केन्द्रीय सदस्य पदमा ७ जनाको उम्मेदवारी रहेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन् । पराजित भएका दाहाल र विक ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका थिए । बागमती प्रदेशसभाकी सदस्यसमेत रहेकी पाठकले (महिला) क्लस्टरबाट केन्द्रीय सदस्य पदमा जित निकालेकी हुन् । उनले १ हजार ९१५ मत प्राप्त गरेकी छन् । पूर्व सांसद एवम् एमालेका मुख्य सचेतक महेश बर्तौलाले खुला क्लस्टरमा उम्मेदवारी दिएर जित निकालेका छन् । उनले १ हजार ५२९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले बागमती प्रदेश भूगोल तर्फको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्य पदमा जित निकालेका छन् । उनले १ हजार ४९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले एमाले केन्द्रीय सदस्यमा आदिवासी जनजाति खुल्ला क्लस्टरमा जित निकालेका छन् । उनले १ हजार ५०९ मत प्राप्त गरेका छन् भने हेटौँडा–४ का वडा अध्यक्ष समेत रहेका नवीन सिग्देलले केन्द्रीय लेखा आयोग सदस्यमा पदमा जित निकालेका छन् । उनले कुल १ हजार ६१४ मत ल्याएर विजयी भएका हुन् । लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव समेत रहेका छन् । यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक केन्द्रीय सदस्य रहेका थिए ।











