हेटौंडा । नेकपा एमालेको आसन्न केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि ८० जनाको उम्मेद्वारी परेको छ । पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट १६ जना प्रतिनिधि बन्न पाउनेमा बुधबार ८० जनाको उम्मेदवारी दर्ता भएको हो ।
एमालेको ११ औ महाधिवेशन मंसिर २७ गते देखि २९ गते काठमाडौँमा हुने तयारीसंगै मकवानपुर एमालेले प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाइएको हो । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुला तर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोगक सूर्य चन्द्र न्यौपानेले जानकारी दिनुभयो । यस्तै महिला तर्फ ८ जना र युवा तर्फ १० जनाले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाट खुला तर्फ १६ जना, महिला तर्फ १० र युवा तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ८ जना निर्वाचित हुने छन् । दलित क्षेत्र अन्तरगत १ जना प्रतिनिधिको लागि जिल्ला भरिबाट निर्वाचित हुने छन् । क्षेत्र नं १ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना तथा क्षेत्र नं २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना निर्वाचित हुने एमाले मकवानपुरले जनाएको छ । महाधिवेशनको लागि जिल्लाबाट १७ जना प्रतिनिधि चयन हुने छन् । उक्त प्रतिनिधि चयनको लागि आगामी १३ गते निर्वाचन हुने बताइएको छ । प्रतिनिधि छनौटका लागि क्षेत्र नं १ बाट ४ हजार १०९ जना, क्षेत्र नं २ बाट ४ हजार २६४ जना र दलित क्षेत्रबाट २६२ जना मतदाता रहेको एमाले मकवानपुरले जनाएको छ ।















