प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै उहाँले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताउनुभयो । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उहाँले निर्देशन दिनुभयो । उहाँले सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले पार्टी छाडेर गएका नेता, कार्यकर्ताहरूलाई एमालेमै फर्कन समेत आह्वान गर्नुभयो । कार्यक्रममा एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले भक्तपुरमा विकासले फड्को मारेको दाबी गर्नुभयो ।