मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई स्वतन्त्रता दिएको बताउनुभएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको बुधबार उद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गर्नुभयो । गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास–प्रगति प्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “गाउँमा विकास पुगेको, बाटो–पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन्, तर यस्ता व्यवस्था धेरै टिक्दैनन्। समयले त्यसलाई छोडेर जान्छ ।” उहाँका अनुसार लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिन्छ, गल्ती गर्नेलाई कानुनअनुसार दण्डित गर्न सकिन्छ, र राज्य प्रणालीलाई सुधार्दै लैजान सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा, लगायतका विकास–निर्माण क्षेत्रमा धेरै लगानी गरेका बताउनुभयो । बकैया गाउँपालिकामा पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उहाँको दावी छ ।

बकैया गाउँपालिका–३ हात्तीसुँढे स्थित यसअघि ट्रष्टको भवनमा संचालन गरिएका् कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण भएको छ । सङ्घीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभा हल दुई वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालयलगायतका संरचना रहेका छन् ।

गाउँपालिकासँग २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ साल जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पुरा नभएपछि म्याद थप गरि गत भदौ ३१ गते निर्माण सम्पन्नभएको हो । भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपियाँमा भएकोमा भवनको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धिकरसहित सात करोड ९५ लाख ६७ हजार ९१७ रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी भएको गाउँपालिकाले जनाएको छ । भवन उद्धघाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, निवर्तमान अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे लगायतको उपस्थिती थियो ।











