मकवानपुर– गृहमन्त्री रामबहादुर थापा (बादल) ले खेलकुदलाई विकास र समृद्धिसंग जोडेर लैजानुपर्ने बताउनुभएको छ । मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले स्वस्थ नागरिकबाटै मात्रै देश समृद्धि हुने भन्दै खेलकुदको विका गर्नुपर्नेमा जोड दिनुभयो ।
खेलकुदको विकास भएको देशमा नागरिक स्वस्थ हुने भएकाले नेपालले पनि खेलकुदमा लगानी गर्नुपर्ने गृहमन्त्री थापाको भनाई थियो । खेलकुदको क्षेत्रमा बागमती गाउँपालिकाले गरेको कामको प्रशंसा गर्दै उहाँले सरकारले खेलाडीलाई खेल खेलेरै बाँच्न सक्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री थापाले नेपाली खेलकुदको क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको भन्दै यसलाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको छ ।
खेलकुद संयोजक अरुण लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदी, नेकपा केन्द्रीय सदस्य राजाराम वाग्ले, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्यांतान, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लबलगायत मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिम गरि राष्ट्रियस्तरका १० टिमको सहभागिता रहेको छ । फाल्गुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख र उपविजेतले ३ लाख नगद सहित नगद, शिल्ड र मेडल पाउने छ । भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।