मकवानपुर – वर्षासँगै आएको पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो दुरीको सडक अबरुद्ध भएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्गमा दुइ स्थानमा पहिरो गएपछि सवारी आवागमन ठप्प भएको हो ।
हेटौंडा–भिमफेदी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अन्तरगत भैसे– भिमफेदी सडक खण्ड र इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेपछि सडक अबरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि उक्त सडक भई चल्ने यातायात दुईतर्फी अवरुद्ध भएको भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार कुलेखानी–सिस्नेरी तर्फ अन्दाजी १० मिटर सडकमा पहिरो खसेको छ भने भैसे–भिमफेदी तर्फ प्रहरीको टोली जाँदै गरेकोले पहिरोको बिस्तृत विवरण आउँन बाँकी छ । सडक अबरुद्ध भएपछि काठमाडौंबाट आएका यात्रु सडकमै रोकिएका छन् । दुबै स्थानको पहिरो हटाउनको लागि पहल भइरहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।