मकवानपुर – मकवानपुरको थाहा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी आयोजक विद्यालय जनकल्याण माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा जनकल्याण माविले १२ स्वर्ण, १० रजत र पाँच कास्यसहित उपाधी जितेको हो ।
प्रतियोगिता अन्तर्गत मेयर भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधी सुन्दरीदेवी माविले जितेको छ । आज सोमबार भएको फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई ३–१ सेटले पराजित गर्दै सुन्दरीदेवीले उपाधी जितेको हो । महिला तर्फको भलिबल प्रतियोगिता पनि आयोजक विद्यालय जनकल्याण माविले नै जितेको छ । यस्तै, झम्केश्वरी माविले चार स्वर्ण र तीन कास्य जित्दै द्वितीय भएको छ भने बज्रबराही माविले तीन स्र्वण, चार रजत र दुई कास्यसहित तृतीय भएको छ । प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाएको थियो । असार ३ गतेबाट सुरु भएको प्रतियोगिता आजको भलिबल खेलसँगै सकिएको छ ।