मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री एवम् मदन भण्डारी फाउण्डेसनका केन्द्रिय सदस्य डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार देशको राजनीति अगाडि बढेको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनको आयोजनामा सुशासन र समृद्धिका लागि सञ्चार बिषयक चितवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले मदन भण्डारी फाउन्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएको बताउनुभयो । जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्ग निर्देशन रहेको भन्दै उहाँले फाउन्डेसनलाई सफल नेतृत्व प्रदान गरि जनता माझ लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । “जनताको बहुदलीय जनवाद” का १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । फाउन्डेसनको जगमा उभिएर धेरै कहाँ कहाँ पुगेको भन्दै उनीहरु अहिले स्वार्थमा लागेको उहाँको भनाई थियो । उहाँले विभिन्न बिकासका कामहरू फाउन्डेसनमार्फत गर्न सकिने समेत बताउनुभएको छ । सूचना र प्रविधिको युग भएका कारण पनि सुशासन र समृद्धिमा सञ्चारको योगदान हुने उहाँले बताउनुभयो ।

फाउन्डेसनका केन्द्रिय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एबम फाउन्डेसनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एबम सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो । यसैगरी फाउन्डेसनको आयोजनामा भोलिदेखी चितवनमा ५ दिने पत्रकारीता तालिम सुरु हुने भएको छ । तालिममा चितवन र मकवानपुरका गरि ३५ जना प्रशिक्षर्थीहरु सहभागी हुने फाउन्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिनुभयो । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारीता तालिम सम्पन्न भैसकेको छ ।