मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणि पौडेलले नेकपा एमालेलाई नयाँ शिराबाट पुनः निर्माण गर्नुपर्ने धारणा सार्वजनिक गर्नु भएको छ । सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत उहाँले सबै पार्टी संरचना र संघ–संगठनलाई पुनर्गठन गरेर नयाँ यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
पूर्व मुख्यमन्त्री पौडेलले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै, “प्यारा युवा भाइबहिनीहरू, शक्तिमा रहुन्जेल देवत्वकरण गर्ने र समस्या आयपछी पलायनको बाटो रोज्ने अवसरवादी सोचले पार्टी र संगठनलाई कमजोर बनाउँछ । तपाईँहरूमा देखिएको निराशाले हामीलाई कतै पुर्याउँदैन, बरु सुदृढ एकता आजको आवश्यकता हो । हाम्रो ध्यान त्यता जानुपर्छ,” भन्दै सबै पार्टी संघ–संगठनहरूको पुनर्गठन गरेर नयाँ शिराबाट पार्टी निर्माणमा जुट्नुपर्ने बताउनु भएको हो ।
उहाँको यस्तो धारणा भ्रष्टाचारविरुद्ध जेनेरेसन–जेड (जेन–जी) पुस्ताले देशभर प्रदर्शन गरेको र त्यसकै लगत्तै देखिएको राजनीतिक उथलपुथलबीच आएको हो । गत भदौ २३ र २४ गते जेन–जीको आन्दोलनका क्रममा पौडेलको हेटौँडास्थित निवासमा समेत आगजनी भएको थियो । आगजनीले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । पौडेलले यस्तो कठिन परिस्थितिमा समेत संगठनभित्र निराशा होइन, एकता र नयाँ सुरुवात आवश्यक रहेको भन्दै युवाहरुलाई सकारात्मक योगदान दिन आह्वान गर्नुभएको छ ।
पूर्व मुख्यमन्त्री पौडेलले पार्टी र संगठनलाई अवसरवाद, निराशा र पलायनवादको जालोबाट मुक्त गरेर नयाँ शिराबाट पुनर्निर्माण गरी सुदृढ एकता कायम गर्नुपर्ने भन्दै कठिन परिस्थितिमा निराशा होइन, संगठनभित्र नयाँ उमङ्ग र साझा संकल्प आवश्यक रहेको भन्दै युवाहरुलाई “पार्टी पुनर्निर्माणको ऐतिहासिक अवसर” उपयोग गर्न समेत आह्वान गर्नुभएको छ ।