प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गर्नु भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राख्नु भएकाे थियाे । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राख्नु भएकाे एक मन्त्रीले जानकारी दिनुभयाे ।
यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राख्नु भएकाे थियाे । तर, ओलीले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने धारणा राखेको ती मन्त्रीको भनाइ छ ।
बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाका बारेमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा सोमबार भएको प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन समिति बनाउने निर्णय गरेको हो ।
यसैबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु भएकाे छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनुभएकाे हाे । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य हुनु भएकाे हाे । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले आफू पदमा बसिरहनु उचित नहुने बताउनु भएकाे छ । यसअघि आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताउनु भएकाे थियाे ।