यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।
कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । धेरै चिल्लो पीरो, गुलियो र मसलेदार परिकार दरका रूपमा स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ ।
परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ । पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।