साताको तेस्रो दिन मंगलबार नेपाली सेयर बजारको कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ । नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो ।
मंगलबार कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयरहरु किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ । आइतबार र सोमबार मात्रै झण्डै १२ अर्ब बराबरको कारोबार भएको बजारमा मंगलबार पाँच अर्ब ४४ करोड बराबरको कारेबार भएको छ ।
नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल समूह मात्र घटेको छ । होटल समूहको कारेबार मंगलबार १।६५ प्रतिशत अर्थात ३४ दशमलव ९२ अंकले ओरालो लागेको छ । यो बाहेक अन्य सबै समूहहरु उकालो लागेका छन् । मंगलबार कारेबार धेरै बढ्नेमा व्यापार समूह देखिएको छ । यो समूह १७२ दशमलव ६२ अंकले उकालो लागेको छ । मंगलबार ८ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा बोटलर्स नेपाल लिमिटेड देखिएको छ ।