मकवानपुर । नेपाली भाषाशिक्षक समिति मकवानपुरको अध्यक्षमा ज्योति न्यौपाने चयन हुनुभएको छ । आज हेटौँडाको सिद्धार्थ माविको हलमा भएको पाँचौँ साधारणसभाबाट प्रगति माध्यमिक विद्यालयका मावि तहका नेपाली विषय शिक्षक न्यौपाने सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा वंशगोपाल माविका नेपाली शिक्षक माधवप्रसाद गौतम, चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा सिद्धार्थ माविकी सुशीला चौलागाइँ चयन हुनुभएको छ ।
सचिवमा अमर मावि हेटौँडा १ का डिबी बर्ताैला, सहसचिवमा नवोदय शिशुसदनका उपेन्द्र राना मगर, कोषाध्यक्षमा तुल्सिमेहर मेमोरियल माविका कमल नेपाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा केशव न्यौपाने, प्रेमबहादुर बोम्जन, नेत्रकुमारी मैनाली मलिना गौतम, विष्णुमाया नगरकोटी, सुन्दर लुइँटेल, अनल आचार्य चयन हुनु भएको छ ।
यसै अवसरमा नेपाली भाषाशिक्षक समिति मकवानपुरले शैक्षिक सत्र २०८१ सालको एसइई परीक्षामा नेपाली विषयमा ४ जिपिए ल्याउने ७३ जना विद्यार्थी र २८ जना शिक्षकलाई सम्मान गरेको छ । सामुदायिक विद्यलयबाट ३३ जना विद्यार्थी र १७ शिक्षक तथा संस्थागतबाट ४० जना विद्यार्थी र ११ जना शिक्षकलाई सम्मान गरिएको हो । नेपाली भाषाशिक्षक समिति मकवानपुरका आजीवन सदस्य तथा सल्लाहकार ध्रुवकुमार भुजेलले आफ्ना मातापिताको नाममा राम–सावित्री सम्मान स्थापना गर्नुभएको हो । सो सम्मान नेपाली भाषाशिक्षक समितिले हरेक वर्ष प्रदान गर्दै आइरहेको छ ।
नेपाली भाषाशिक्षक समिति मकवानपुरका निवर्तमान अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकारहरू रमेशमोहन अधिकारी, ध्रुवकुमार भुजेल, विष्णुप्रसाद गौतम, माधवप्िरसाद खतिवडा, सागरप्रसाद खतिवडा, सामाजिक विष शिक्षक समाजका अध्यक्ष भोगेन्द्र लुईटेल, गणित विषय शिक्षक समूहका अध्यक्ष धनिकलाल साहलगायतको उपस्थिति रहेको थियो ।









