मकवानपुर, साउन १८ । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माण भएको प्रादेशिक कृषि थोक बजार उद्घाटन तथा हस्तारण गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकासमन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले आईतबार एक समारोहकाबीच थोक बजार उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेशभित्र उत्पादित कृषि उपजको सहज बजार व्यवस्थापन, कृषक–उपभोक्तालाई उचित लाभ र कृषि प्रणालीलाई व्यवसायिक बनाउने लक्ष्यसहित हेटौंडा–११, थानाभर्याङ्मा आधुनिक प्रादेशिक कृषि थोक बजार निर्माण गरिएको हो । प्रदेश सरकारको ७० र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा बनेको उक्त थोक बजार मन्त्री श्रेष्ठले उद्घाटन गर्दै उपमहानगरलाई हस्तान्तरण गर्नुभयो ।

थोक बजार निर्माणका लागि कुल ३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपियाँ लागत अनुमान गरिएकोमा श्री अनक÷माउण्टेन जे÷भी सँग २०७८ साल जेठ ९ गते ३२ करोड १० लाख ५० हजार ७१५ रुपैयामा निर्माण सम्झौता गरेर काम अगाडी बढाईएको थियो । तर, लागत स्टिमेटमा छुट भएको भन्दै थोक बजार भित्रको पक्कि सडक बनाउन पछि पुन ७७ लाख ४५ हजार ९६६ रुपैया थप गरि निर्माण कार्य सम्पन्न गरिएको हो ।

कुल २ विगाह ४ धुर क्षेत्रफलमा रहेको उक्त थोक बजारको सबै भन्दा मुनि वेसमेन्टमा कार तथा बाइक पार्किङ साथै भवनहरुमा तरकारी ओसार पसार गर्ने कार्गो लिफ्ट र प्सेन्जर लिफ्ट समेत व्यवस्था गरिएको छ । भने, २३२ वर्ग मिटरको एक पटकमा ५ सय मेट्रिक टन सुरक्षित भण्डारण क्षमता भएको कोल्ड स्टोरेज पनि रहेको छ । थोक बजारमा कुल ६३ वटा सटर रहेकोमा ४० वटा सटर थोक व्यवसायीका लागि र २३ वटा सटर खुद्रा व्यवसायीका लागि तयार गरिएको छ । साथै, सटर लिन नसक्ने किसानहरुकालागि छुट्टै टहरा समेत निर्माण गरिएको छ । थोक बजारमा छुट्टै प्रशासनिक र चमेनागृहको पनि निर्माण गरिएको छ ।

थोक बजारको चाबी हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले बजारको व्यवस्थापन जिम्मा उपमहानगरपालिकालाई सुम्पिएको घोषणा गर्नुभयो । उहाँले सुविधासम्पन्न उक्त कृषि थोक बजार सञ्चालनमा आएपछि हेटौंडा र आसपासका क्षेत्रका कृषक, व्यापारी तथा उपभोक्तालाई व्यवस्थित व्यापारिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गर्नुभयो । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपमहानगरका उपमेयर राजेश बानियाँ, विभिन्न गाउँपालिकाका अध्यक्षहरु, राजनीति दलका प्रमुख एवम् प्रतिनिधिलगायत विभिन्न संघ÷सस्थाका प्रमुख, ब्यापारी तथा कृषकहरूको सहभागीता थियो ।











