काठमाडौं, असार १७ – नेकपा एमालेका सचिव एवं प्रतिनिधी सभाका सदस्य योगेश भट्टराईले निजमाती सेवा विधेयकमा भएको चलखेललाई गम्भिर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको छ ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो माग गर्नुभएको हो । उहाँले संसदीय समितीले सर्वसम्मत रुपमा पारित गरेको प्रतिवेदनको मुलमर्म विपरितको दफा कसरी समावेश भयो भनेर प्रश्न गर्नुभएको छ । भट्टराईले यो प्रकरणमा अविलम्ब संसदीय छानविनको माग पनि गर्नुभएको छ । ‘दोषी उपर कडा कारबाही गरिनु पर्दछ । लोकतान्त्रिक प्रणालीमा संसदको नीतिगत मात्र होइन प्रक्रियागत सर्वोच्चता सर्वस्विकार्य मान्यता हो ।’
यस विषयलाई सभामुख देवराज घिमिरेले लिएको चासोलाई उहाँले स्वागत गर्नुभएको छ । भट्टराईले लेख्नु भएको छ ‘सम्माननीय सभामुखज्यूले लिनुभएको चासो र सक्रियताको स्वागत गर्दछु । तत्काल छानविन र कारबाहीको प्रक्रियामा उहाँको थप प्रभावकारी पहलको अपेक्षा गर्दछु । ’