२० वैशाख, हेटौँडा । मदन भण्डारी फाउण्डेसन मकवानपुरले यो वर्षको “श्रीचन्द्र शर्मा स्मृति सम्मान” हेटौँडा–८ निवासी सुभद्रा रेग्मीलाई प्रदान गरेको छ । फाउण्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको नगदसहितको उक्त सम्मानबाट न्यौपानेलाई नगद १५ हजार ५५५ रुपैयाँसहित सम्मानित गरिएको हो ।
शनिबार एक कार्यक्रमकाबीच फाउन्डेसनकी संस्थापक अध्यक्ष एवम् पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले नगदसहित प्रमाणपत्र एवम् दोसल्ला आढाएर श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट रेग्मीलाई सम्मानीत गर्नुभएको थियो । नेपालको स्वतन्त्रता र राष्ट्रिय मुक्तिका लागि सञ्चालित देशभक्तिपूर्ण आन्दोलन र सामाजिक रुपान्तरणको अभियानमा तत्कालिन नेपाल स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल महिला संघसंग आबद्ध रही पञ्चायती निरंकुशताबिरुद्धको लडाईमा सकृय सहभागी हुँदै भूमिगत कालमा सेल्टरदाताको रुपमा समेत योगदान गरेको स्मरण गर्दै रेग्मीलाई सम्मान गरिएको हो ।
मदन भण्डारी फाउण्डेशन मकवानपुरले संस्थापक अध्यक्ष शर्माको स्मृतिमा अक्षय कोष स्थापना गरेर हरेक वर्ष जिल्लामा राजनैतिक एवम् सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई नगद राशीसहित सम्मान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार पुराना कम्युनिष्ट नेता बम बहादुर लामा, समाजसेवी ईश्वरी प्रसाद न्यौपाने, शैक्षिक व्यक्तित्व युवराज गिरी र ट्रेड युनियन आन्दोलनका नेता तथा राजनीतिक व्यक्तित्व ज्ञानबहादुर भुजेललाई प्रदान गरेको खुलालले बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवम् फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फाउण्डेशनका संस्थापक सदस्य डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतको आतिथ्यता रहेको थियो । साधारणसभाले पुन रघुनाथ खुलालको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।