२० वैशाख, हेटौँडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा अझै पनि सकारात्मक परिवर्तन आउन नसकेको बताउनुभएको छ । राजनीतिक परिवर्तन र संविधान बदल्न सफल भएपनि जनताले सकारात्मक परिवर्तनको महशुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको चौथो वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउनुपर्ने उल्लेख गर्नुभयो । समाजको आर्थिक, सामाजिक व्यवस्थाको रुपान्तरणलाई मुल लक्ष्य बनाएर अगाडि बढनुपर्ने आजको आवश्यकता भएको उहाँको भनाई छ । पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न सकिने भएकोले त्यो पहलकदमी जनताको सेवाको लागि हुनुपर्ने उहाँको धारणा थियो ।


मदन भण्डारीले प्रतिवादन गरेको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त भएको पूर्व राष्ट्रपति भण्डारीको भनाई छ । जबजले जनताको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरी देशलाई समाजवादको दिशातर्फ उन्मुख गराएको उहाँले उल्लेख गर्नुभयो ।
२०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन पुगेको उहाँले बताउनुभयो । जबजले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक मार्गतर्फ उन्मुख गराएको समेत उहाँले जिकिर गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले वर्गीय विविधतायुक्त समाजमा जनताको हितमा काम गर्ने र सधै जनतासंग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने बताउनुभयो ।


फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौंडा ८ कमानेकी शुभद्रा रेग्मीलाई सम्मान समेत गरिएको छ । पञ्चायती निरङकुशता विरुद्धको लडाईमा सहभागी भई सेल्टरदाताको रुपमा गतिशिल रहेको भन्दै फाउण्डेशनले रेग्मीलाई सम्मान गरेको हो । साधारणसभाले पुनः खुलालकै नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । कार्यक्रममा फाउण्डेशनका संस्थापक सदस्य डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतको आतिथ्यता रहेको थियो ।