१६ बैशाख २०८२, मकवानपुर । हेटौंडामा आगामी बैशाख १९ गतेदेखि हुने सातौं संस्करणको “सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला फुटबलको तयारी पुरा भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

छैठौं संस्करणसम्म पुरुषतर्फ गोल्डकप गर्दै आएको संघले यो वर्ष प्रतियोगितालाई परिमार्जन गरेर महिला गोल्डकप आयोजना गर्न लागेको जनाएको छ । पछिल्लो समय महिला फुटबलको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै महिला खेलाडीको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्ने तयारी भएको संघका अध्यक्ष टिकाराम लामाले बताउनुभयो ।
बैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा विभागीय तीनसहित ८ टिमको सहभागिता रहने बताइएकाे छ । प्रतियोगितामा विभागीय टिमहरु नेपाल आर्मी, नेपाल पुलिस, एपिएफसहित रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर फुटबल टिक, नवजनजागृति युवा क्लब महिला टिम सिमरा बारा, बिरगंज युथ एकेडेमी महिला टिम, चितवन जिल्ला महिला टिम, र रौतहट जिल्ला महिला टिमले सहभागिता जनाउने संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर साथै विधागत उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको प्रायोजकका रुपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् । प्रतियोगिताका लागि खेलकुद विकास परिषद्ले २० लाख र हेटौंडा उपमहानगरपालिकाले २५ लाख, भैमफेदी र कैलाश गाउँपालिकाबाट ३÷३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने जनाईएको छ । पत्रकार सम्मेलनमा एन्फा केन्द्रिय सदस्य एवम् महिला फुटबल संघकी अध्यक्ष पेमा लामालगायतको उपस्थिगती थियो ।