मकवानपुर । मकवानपुर जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा हेटौँडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदकसहित उपाधि कब्जा गरेको हो ।
प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र १० कांस्य पदकसहित बकैया गाउँपालिका द्वितीय तथा ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदकसहित थाहा नगरपालिका तृतीय भएको छ । प्रतियोगितामा मकवानपुरको १० मध्ये इन्द्रसरोवर गाउँपालिका बाहेक ९ वटा पालिकाबाट विभिन्न विधामा करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार पुरस्कार वितरण कार्यक्रम भएको थियो ।