मकवानपुरगढी–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शैक्षिक सिकाईमा परिर्वतन गर्न जरुरी रहेको बताउनुभएको छ । मकवानपुरगढी गाउँपालिका–५ स्थित सारदा माविको २२औं अभिभावक भेलाको शुक्रबार उद्घाटन गर्दै प्रमुख खुलालले शैक्षिक सिकाइलाई परिवर्तन गर्दै गुणात्मक शिक्षामा जोड दिनु पर्ने बताउनुभएको हो ।

सृजनशील, विकासशील, व्यवहारिक एवं वैज्ञानिक र प्रविधियुक्त शिक्षाको उपयोगबाट जनचाहना र राज्यको आवश्यकता पूरा हुने हुँदा पहिलेको जस्तो घोकेर पड्ने शिक्षा हैन व्यवहारिक र जिवन उपयोगि शिक्षा प्रदान गर्नुपर्ने प्रमुख खुलालकाे भनाइ थियाे । मानिसको सुन्दर भविष्यको आधार जीवनोपयोगी शिक्षा हुने हुँदा औपचारिकता मात्रैको वेरोजगार उत्पादन गर्ने शिक्षाको कुनै औचित्य नहुने उहाँले बताउनुभयो । हाम्रो शिक्षा कस्तो छ, कुन स्तरको छ, हामी कस्तो जनशक्ति तयार गर्छौँ भन्ने कुराले हाम्रो देशको भविष्य, हाम्रो विकासको गति र हाम्रा गन्तव्यहरूलाई निर्धारण गर्ने हुँदा सोहि अनुसारको शैक्षिक सिकाइमा परिर्वतन गर्न जरुरी रहेको उहाँको भनाई थियो । विकास र समृद्धिको पहिलो आधार नै शिक्षा भएकाले यसमा परिर्वतन ल्याउन अभिभावक, शिक्षक, बिध्यार्थी, व्यबस्थापन समिती सबै मिलेर अगाडी बढ्न जरुरी रहेको प्रमुख खुलालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद दङ्गालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक चन्द्र प्रसाद लुईटेल, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरे, शिक्षा विकास निर्देशनालयका उपसचिव रुद्रहरी भण्डारी, गढी गाउँपालिका–५ का वडा अध्यक्ष एवम् सामाजिक विकास संयोजक जित बहादुर घिमिरेलगायतको उपस्थिती थियो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । आजको अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति तथा पिटिए समेत चयन गर्ने बताईएको छ ।