मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगकमा आर्थिक संकट गहिरै जाँदा उद्योगले यतिबेला ठुलो संकट व्योहोरि रहेको र पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको छ । पछिल्लो ६ महिनादेखि उद्योग संचालन हुन नसक्दा यतिखेर उद्योग पूर्ण आर्थिक संकटमा छ, भने, उद्योग नै बन्द हुने अवस्थामा पुगेको हो ।
चालू आर्थिक वर्षको ६ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन उद्योग चलेको छ । एकातिर सञ्चालन खर्च धान्न नसक्नु र अर्कातिर पुराना उपकरण बारम्बार बिग्रनु उद्योगको नियति बनेको छ  । जसका कारण उद्योग चालू आर्थिक वर्षमा जम्मा २६ दिन मात्रै चलेको छ  । उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकोले उद्योगमा आर्थिक समस्या बढ्दै गएर अहिले उद्योग पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको हो ।
२०३३ सालमा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ लगानीमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ साल मंसिर २६ गतेदेखि व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गर्न थालेको थियो । दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले वर्षमा २७ लाख बोरा उत्पादन गर्न सक्छ । तर यो वर्ष उद्योगले मुस्किलले २ लाख बोरा उत्पादन गर्ने अवस्था रहेको पूर्व कर्मचारीहरुले बताएका छन् ।
उद्योग संचालन गर्न स्थानीय संघर्ष समितिकाे पहल
उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै अहिले स्थानीयले संघर्ष समिति गठन गरेर मकवानपुरको मात्र नभई देशकै महत्पूर्ण हेटौंडा सिमेन्ट कारखाना सञ्चालनका लागि पहल थालेका छन् । स्थानीय संघर्ष समिति गठन गरेर पहिलो चरणमा स्थानीय राजनैतिक दललगायत सरोकारवालासंग उद्योग सञ्चालनका विषयमा छलफलको कार्यक्रम गरिरहेको समितिका संयोजक सुरेश बेरोजगारले बताउनु भएको छ । “उद्योग सञ्चालन हुनुपर्छ भन्ने हाम्रो पहिलो प्राथमिक्ता छ, यसकालागि स्थानीयवासीको सहभागितामा संघर्ष समिति गठन गरेका छौं ।” उहाँले भन्नुभयो । सबैको ध्यानाकर्ष गराउँदै उद्योग सञ्चालनको वातावरण बनाउने पक्षमा हाम्रो पहल रहेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा उद्योगका विषयमा स्थानीय स्तमा भएको छलफलबाट व्यवस्थापकीय संरचना र कर्मचारीकै कारण हेटौंडा सिमेन्टको अहिलेको अवस्था सृजना भएको पाईएको उहाँले बताउनुभयो । बिहीबार स्थानीय स्तरमा भएको छलफलमा उद्योगको महाप्रबन्धलगायत नेतृत्वको दुरदर्शीताको कमीका कारण उद्योगको यो अवस्था सृजना भएको उद्योगकै अवकास प्राप्त कर्मचारीले बताएको उहँँले बताउनुभयो । “बिहीबारको छलफलमा हामीले उद्योगका अवकास प्राप्त कर्मचारीलाई पनि आमन्त्रण गरेका थियौं, उहाँहरुले त्याहा भित्रकै कर्मचारी उद्योग चलोस भन्ने पक्षमा छैनन् भन्नुभयो ।” उहाँले भन्नुभयो ।
छलफलमा पूर्व कर्मचारीहरुले सरकारको हेलचेक्राई र व्यवस्थापनबाट उद्योग चलाउँदा घाटा हुन्छ भन्ने भ्रम सृजना गथरिएको बताएको उहाँले जानकारी दिनुभयो । यस्तै अहिले उद्योगमा चुनढुंगा, कोईलालगायत खरिद गर्न सक्ने नरहेको अवस्थामा कर्मचारीले अतिरिक्त भत्ता खाने, हाजिर गरेर घर फर्कने लगायतका लापर्वाहि हुने गरेको बताएका छन् । उनिहरुले व्यवस्थापनको व्यतिथि र कर्मचारीको लापर्वाहीका कारण उद्योगको यो अवस्था आएको बताएको संघर्ष समितिका संयोजक सुरेश बेरोजगारले बताउनुभयो । हिजो वडाका सरोकारवालासंग र आज उद्योगका कर्मचारीहरुसंग छलफल गरेको भन्दै उहाँले उद्योग सञ्चालनका विषयमा सोमबार स्थानीय सरकार, उद्योग प्रशासन, उद्योग मन्त्रालय, विभाग तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनुभयो ।