file photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताउनु भएको छ । बलियो केन्द्रिय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताउनुभयो ।
‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’
राप्रपा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताउनुभयो । अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दावी समेत गर्नुभयो ।