हेटौंडा । बागमती प्रदेश सरकारले हाल सम्म सवारीका साधन खरिद र मर्मतमै एक अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकार स्थापना भएदेखि हाल सम्म यतीका धेरै रकम सवारीका साधन खरिद र मर्मतमै सकिएको हो । वाग्मती प्रदेशको हालसम्मको सवारीसाधन मर्मतसम्भार खर्च २२ करोड १५ लाख ८४ हजार रुपैयाँ रहेको छ । यही अवधिमा ९५ करोड ८६ लाख ३३ हजार रुपैयाँको नयाँ सवारीसाधन खरिद गरिएको छ ।
चालु वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने योजना बनाइएको छ । प्रदेश सरकारले मर्मतसम्भारका लागि भने ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ । वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारीसाधनको खर्च बढ्नु स्वाभाविक भएको बताए । उनले सवारीसाधनमा बर्सेनि बढ्दो खर्च नियन्त्रण गर्न सरकारले अध्ययन सुरु गरिसकेको जानकारी दिए । ‘धेरै मन्त्रालयले चालु वर्षमा नयाँ सवारी नकिन्ने भनेका छन् । बजेट पनि त्यहीअनुसार बनाएका छौं,’ उनले भने ।
यसैगरी सात वटै प्रदेश सरकारहरूले गएका चार आर्थिक वर्षमा सवारीसाधन खरिद र मर्मतसम्भारमा मात्र ६ अर्ब २४ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च गरेका छन् । आर्थिक वर्ष २०७५/७६ देखि ०७८/७९ सम्ममा ४ अर्ब ८० करोड ३३ लाख ४९ हजार रुपैयाँको सवारीसाधन खरिद गरेका प्रदेश सरकारहरूले मर्मतसम्भारमा १ अर्ब ४४ करोड ४३ लाख ८८ हजार रुपैयाँ सकेका हुन् । सवारीसाधनमा प्रयोग हुने इन्धन र चालकहरूको पारिश्रमिकमा भएको खर्च छुट्टै छ । संघीय सरकारले चालु खर्च १५ प्रतिशत घटाउने भन्दै चालु आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सवारीसाधन नकिन्ने घोषणा गरेको छ । सवारीसाधन खरिद गर्दा खर्च बढ्ने र विदेशी मुद्राको सञ्चिति पनि घट्ने भएका कारण यस्तो घोषणा गरिएको जनाइएको छ । सुदूरपश्चिमबाहेकका प्रदेश सरकारले भने चालु आर्थिक वर्षमा नयाँ गाडी खरिद गर्ने योजना बनाएका छन् । ६ वटा प्रदेशले यस वर्ष सवारीसाधन खरिद र मर्मतसम्भारमा २ अर्ब १३ करोड ५२ लाख रुपैयाँ छुट्याएका छन् ।