मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन भोली शनिबार हेटौंडा–२ स्थित पल्पसा सभाहलमा हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार भोली बिहान ९ बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।
उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न हर तबरबाट लागेका छन् । तर, यसै निर्वाचनमा क्षेत्रीय मतको पनि चर्चा निकै रोमाञ्चक रुपमा अगाडी बढेको छ । विशेष गरि दुई छुट्टा छुट्टै समुह बनाएर चुनावी मौदानमा उत्रेका उम्मेदवार मात्र हैन अहिले क्षेत्रगत रुपमा मनहरी र हेटौंडाको मतको समेत चर्चा चलेको पाईन्छ । निर्वाचनमा विशेष गरि सहकोषध्यक्ष पदमा उम्मेदवार बन्नुभएकाहरु एकजना हेटौंको र अर्को मनहरी क्षेत्रबाट हुनुहुन्छ । उहाँहरु दुवैजना आ–आफ्नो क्षेत्रको भोट आफ्नो पक्षमा पार्न तल्लिन भएर लाग्नु भएको छ । तर, मतदाताले नै दुई पक्षबीच पक्षपात गर्न खोजेको भान भएको छ ।
बिशेष गरि मनहरी क्षेत्रका मतदाताले मनहरीकै उम्मेदवारलाई नै मतदान गर्ने भनेपछि हेटौंडाका अर्का उम्मेदवारलाई चिन्ता बढेको हो । उद्योग वाणिज्य संघकै सदस्य रहेका एक व्यवसायीका अनुसार व्यवसायीले यसरी क्षेत्र छुट्याएर मतदान गर्छु भन्ने कुरा राम्रो नभएको बताउनुभयो । “मनहरीले मनहरीलाई वा थाहाले थाहालाई मात्र मतदान दिएर हुँदैन, मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला भरिको प्रतिनिधित्व गर्ने हुँदा सोहि अनुसार काम गर्ने मान्छेलाई छान्नु पर्ने नकी क्षेत्र हेरेर भोट हाल्ने हो ।” उहाँले भन्नुभयो । उहाँले व्यवसायीको हित हुने कुरामा सबैले जोड दिनुपर्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सहकोषध्यक्षमा मनहरी क्षेत्रका राधिका सामरी पाण्डे र हेटौंडाकी निलम बैद्य आकाक्षी हुनुहुन्छ ।