मकवानपुर प्रहरीले १ हजार ४ सय १५ तोला अबैध चाँदीका गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा हेटौंडा–२ स्थित देवीपथबाट भंसार छलेर ल्याएको १४ सय १५ तोला अबैध चाँदी सहित भारतको मोतहारी जिल्ला आदपुर–हरपुर–५ बस्ने १८ वर्षिया राकेश कुमार सुनारलाई पक्राउ गरेको हो ।
चोरी पैठारी गरी ल्याएको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी नायव निरिक्षक जय बहादुर प्रधानको कमाण्डमा खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुनाले ना १४ प २८३६ नम्बरको मोटरसाईकलमा फल्सबटम बनाएर ट्याङकी, सिटमुनी र एयर फिल्टर समेतमा चादीँका तयारी गरगहना पाउजु ७१६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडी ६५ तोला , चम्चा ६५ तोला, थाली, आशन र बासुरी ११८ तोला, चावि रीङ १२२ तोला, सिन्दुर दानी ५४ तोला, मुर्ति १९१ तोला गरी कुल १४ सय १५ तोला अबैध चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएको चाँदीको मुल्य ६ लाख २० हजार ५ सय पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई चाँदीको गरगहना सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।