मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिकाको १७ औं गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको हो । सामाजिक सांस्कृति संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकिय क्षेत्र घोषण गरेको उनले बताए ।
चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामाकरण गर्ने निर्णय गरेको उनको भनाई छ । उक्त निर्णय कार्यान्वयको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै विषेश कार्यक्रम मार्फत् बजेट व्यवस्था गर्ने तयारी गरेको अध्यक्ष मल्लले बताए । गाउँपालिकाको २०७४ को पहिलो निर्णयमा नै सो वडालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेपनि कार्यान्वयन हुन नसकेको उनले बताए ।
गाउँसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ भने विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ भने न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ ।