मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनका १४ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आईतबार ५ जना स्वतन्त्रसहित ९ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
हेटौंडा १२ को अध्यक्ष पदका लागि नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी, नेपाली कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारी, नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधान (रविन), ले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशाबिर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले उम्मेद्वारी गराउनु भएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो ।
मैनालीका अनुसार उपनिर्वाचनका लागि स्वतन्त्र रुपमा ५ जनाकोे उम्मेदवारी परेको छ । स्वतन्त्रमा छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङतानले वडा अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको उहाँले बताउनुभयो । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा विजयी हुनुभएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख पदमा निर्वाचित भएपछि सो वडामा वडा अध्यक्ष पद रिक्त रहेको थियो ।
निर्वाचन कार्यतालिकाअनुसार आज मंसिर २ गते मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन, भोली मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर जाँचबुझ र निर्णय, मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन, ५ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । उपनिर्वाचनका लागि हेटौंडा–१२ मा दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ रहनेछन् भने विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने निर्वाचन कार्यालयले जनाएको छ । यस वडामा ४१७४ महिला, ३८७८ पुरुष र १ अन्य गरी कुल ८०५३ मतदाता रहेका छन् ।