बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको एउटा विधेयक पुनर्विचारका लागि प्रदेश सभामै फिर्ता पठाउनु भएकाे छ भने दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ पुनर्विचारका लागि बिहीबार प्रदेश सभामा फिर्ता पठाउनु भएकाे हाे ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम उक्त विधेयकमा व्यवस्था गरिएका केहि प्रावधानका विषयमा पुनर्विचार गर्नुपर्ने भएकाले प्रदेश सभामा पठाएको प्रदेश प्रमुखको कार्यलयले जनाएको छ । यस्तै, प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएका अन्य दुईवटा विधेयक भने प्रमाणीकरण गर्नुभएकाे छ । प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रमाणीकरण गर्नुभएकाे हाे । प्रदेश सभाको गत ७ असोजमा बसेको बैठकले पारित गरेका ती विधेयकहरू प्रदेश प्रमुख देवकोटाले संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणीकरण गर्नुभएकाे हाे । प्रदेश प्रमुखबाट प्रमाणित भएका दुवै विधेयक राजपत्रमा प्रकाशित भएपछि प्रदेश ऐनका रूपमा लागू हुनेछन् ।