मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका विभिन्न क्षेत्रमा अबरुद्ध विद्युत सेवा सुचारु भएको छ । गत असोज १० गते देखि अबरुद्ध उक्त क्षेत्रका एक हजार बढि घरधुरीमा आज (शनिबार) साँझबाट बिद्युत सेवा सुचारु भएको हो ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोले भीमफेदी–८ इपाका सबै गाँउहरु र बकैया–१२ का कोलखोप, रातोमाटे, ठिगन डाँडा, ठिगन बजार, धारापानी, चिप्लेटीलगायत क्षेत्रका बिद्युत अबरुद्ध भएको थियो । उक्त क्षेत्रमा कुलेखानी फिडरबाट विद्युत प्रवाह गरिएको र कुलेखानी फिडरको सिस्नेरी खण्डमा वर्षाका कारण क्षति भएकोले कमाने फिडरबाट विद्युत सेवा सुचारु गरिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

उहाँले स्थानीयको जनश्रमदान र नेपाल बिधुत प्राधिकरण हेटौडा वितरण केन्द्रका प्राविधिक जनशक्तिका कारण सेवा सुचारु गर्न सकिएको बताउनुभयो । विद्युत प्राधिकरणबाट बिजुलीको पोल, तार लगायत आवश्यक सामग्री लिएर अध्यक्ष लामा आफै फिल्डमा बसेर लाइन विस्तारको काममा जुट्नु भएको थियो । असोज १०, ११ र १२ गतेको लगातार वर्षापछि उक्त क्षेत्रमा सडक, बिजुली र टेलिफोन सबै सेवाहरू अवरुद्ध भएका थिए ।