मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या ५ सय नाघेकाे छ । गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको कूल संख्या ५ सय नाघेको हाे ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जनामा डेंगू संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ५ सय ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कर्यालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा मकवानपुरमा १६ जनामा डेंगु संक्रमण पुष्टि भएकाे थियाे ।
पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका ११ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र मनहरी गाउँपालिकाका ४ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । जिल्लामा हालसम्म डेंगू संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । उपमहानगरपालिकामा ३ सय ५८ जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
यसैगरी, मनहरी गाउँपालिकाका ४५ जना, बागमती गाउँपालिकाका २२ जना, बकैया गाउँपालिकाका १५ जना, भीमफेदी गाउँपालिकाका १२ जना, मकवानपुरगढी गाउँपालिकाका ९ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, थाहानगरपालिकाका १ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । त्यस्तै, उक्त अवधिमा जिल्लाकाे हेटौंडा उपमहानगरपालिका–१३ का डेंगू संक्रमित १ जना पुरुषकाे मृत्यु भएको छ ।