हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, बालमैत्री शासनयुक्त वडा घोषणा हुने भएको छ । वडा अध्यक्ष सुकराम केसीले वडालाई बालमैत्री घोषणाका लागि तयारी पूरा भएको र यहि असोज ११ गते घोषणा हुने जानकारी दिनुभयो ।
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ असोज ११ गते शुक्रबार हेटौँडा–९ लाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो । ‘वडाध्यक्ष केसीले वडालाई पूर्ण खोप वडा घोषणा, पूर्ण साक्षर वडा घोषणा, खुला दिसामुक्त घोषणा गरिसकेको र नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक सूचक पूरा गरेको बताउनुभयो । उहाँका अनुसार बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकहरु शत्प्रतिशत, एउटा सूचक ९७ प्रतिशत, एउटा सूचक ९६ प्रतिशत, एउटा सूचक ९० प्रतिशत र एउटा सूचक ८१ प्रतिशत नतिजा हासिल गरेको छ ।
वडामा घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष भन्दा कम उमेरका बालबालिकाको संख्या दुई हजार सात सय सात जना रहेको वडाध्यक्ष केसीले बताउनुभयो । जसमा एक हजार चार सय ४५ बालक र एक हजार दुई सय ६२ बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी बालविकास केन्द्रसहितका ६ वटा विद्यालयहरु सञ्चालनमा छन् भने २५ वटा बालसमूह र एक वडा बाल सञ्जाल रहेको छ । जसमा छ सय २५ जना बालबालिकाहरु आवद्ध छन् ।
वडालाई शुक्रबार बिहान–११ बजे प्रगति माध्यमिक विद्यालय परिसरमा कार्यक्रम आयोजना गरी बालमैत्री वडा घोषणा गर्ने तयारी छ । हेटौंडा–९ सातौं वडाको रुपमा बालमैत्री शासनयुक्त वडा घोषणा हुन लागेको हो । यसअघि हेटौंंडा उपमहानगरपालिकाका वडा नम्बर २, ४, ७, ८, १० र १७ नम्बर वडा बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ ।