हेटौंडा । हेटौंडा–१३, बनस्पतिमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले नेपालको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजको महत्त्व र यसको समग्र विकासको आवश्यकतामाथि जोड दिनुभएको छ।
उहाँले भन्नुभयो: “हाम्रो समाज इन्द्रेणी जस्तै विविध रङ्गले भरिएको छ। यहाँ विभिन्न जाति, धर्म र आस्था भएका मानिसहरू छन् । हामीले सबै धर्मको विचारलाई समान रूपमा सम्मान गर्नुपर्छ।” श्रेष्ठले सनातन धर्मको विकासलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “सनातन धर्मलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ। यसबाट आर्थिक उपार्जन र पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।” उहाँले यस क्षेत्रको विकासलाई नवीन दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हामीले यो क्षेत्रको विकासलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ। यसका लागि हामी सधैं क्रियाशील रहनुपर्छ।” यस्ता कार्यक्रमले विविधतालाई सम्मान गर्दै, सबै समुदायको सहभागितामा आधारित समावेशी विकासको आवश्यकतालाई रेखाङ्कित गरेको उहाँको भनाई छ। धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने कार्यमा हामी सबैले प्रयास गरीरहनुपर्ने श्रेष्ठले बताउनुभयो ।
पबित्र उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाईब असोज ५ गतेसम्म हुने महायज्ञमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ मा अवस्थित श्री कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना र अक्षयकोष स्थापनाका एवम् बुद्ध मूर्ति निर्माणका लागि प्रख्यात कथा वाचक पण्डित कपिलदेव भट्ट तथा उप-वाचक पण्डित डेगनाथ ढकालले कथा वाचन गर्नुहुने भएको छ । कार्यक्रमा सम्पूर्ण दिवंगत आत्माहरुको बैकुण्ठ बासहोस् भन्दै पितृ उद्धार गर्ने उद्देश्यले कथा वाचन, पाठपरायण तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन, संगीतमय देवलिला झाँकी नाटक सहितको कार्यक्रम हुने भएको मुल आयोजक समारोका संयोजक सन्तबहादुर तितुङले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, समितिका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, वसन्त लामा, बिन्दबासिनी टोलबिकास संस्थाका अध्यक्ष रत्नबहादुर केसी, सहारा टोलबिकास सस्थाका अध्यक्ष अशोककुमार डिमडुङ, मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर भ्लोन लगायत सहभागी थिए ।