काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिबारबाट काठमाण्डौमा सुरु भएको पार्टीका नवनिर्वाचित सांसदहरुको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न सांसदहरुलाई सचेत समेत गराउनु भयो । पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरुमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले भन्नु भयो, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरी बस्ने र खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनु पर्दछ । संसदीय अन्य गतिविधिहरुमा जति बजे बोलाइएको छ, त्यतिबजे उपस्थित हुनु पर्छ । समयसीमाको पालना गर्नु पर्दछ । त्यसमा सबै साथीहरुले ध्यान दिनु पर्दछ ।’ अध्यक्ष ओलीले सांसदहरुले समयसीमालाई हेक्का राखेर अघि बढनुपर्ने समेत बताउनु भयो ।